
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौं महानगरपालिका-२१ मा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताउनुभयो ।
मेयर शाक्यले भन्नुभयो, ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यक्ताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो ।’
महानगरमा एमालेले जित्ने अवस्था रहेकाे बताउँदै मेयर शाक्यले आफ्नाे कार्यकालमा धेरै आयाेजनाकाे शिलान्यास गरेकाे जिकिर गर्नुभयाे ।
‘महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिएपनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं,’ उहाँले भन्नुभयाे ।
‘विकास निर्माणका काम भनेको निरन्तर रुपमा चल्ने हो, कहिले पनि सकियो भन्ने हुँदैन । एउटा सकिन्छ, अर्को काम शुरु हुन्छ । यो निरन्तर रूपमा चलिरहन्छ,’ उहाँले थप्नुभयाे, ‘हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौँ । शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बन्छ ।’
मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताउनुभयो । उहाँले महानगरको नीति अनुसार आगामी दिनमा पनि साँस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिका ऐतिहासिक, सांस्कृतिक शहर हो । जत हेर्दा पनि मन्दिर नै मन्दिर छन् । पार्टी पौवाहरु प्रशस्त छन् । त्यो बेला जसले बनाए पनि अहिले हाम्रो लागि सम्पदा बनेका छन् । सम्पदालाई संरक्षण गर्नु, प्रवद्र्धन र पर्यटनसँग जोड्नु महानगरको नीति नै रहेको छ । त्यहीअनुसार हामीले शुरु देखि नै भनिरहेका छौँ । यहाँका जति पनि सम्पदा, मठ मन्दिर छन्, आफ्नो महत्व बोकेका छन् । हामीले सबै पुनर्निर्माण गरिदिन्छौँ भनेका थियौँ । त्यहीअनुसार पुनर्निर्माणलाई निरन्तरता दिइरहेका छौँ ।’
विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने उहाँले प्रतिवद्धता समेत जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्