
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुट उपगुटमा छरिएका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।
माओवादीको २७ औं जनयुद्ध दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु परिवर्तन उल्ट्याउन र परिवर्तनको नेतृत्वकर्ता पार्टी र त्यसको नेतालाई बदनाम गर्न लागि रहेकाले परिस्थितिलाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्नुभएको हो ।
परिवर्तनका लागि लडेका शक्तिहरु एक भए परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने भन्दै उहाँले सबैखाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्न एकजुट हुन भन्नुभएको छ । जनयुद्ध दिवस मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य क्रान्तिकारी शक्तिहरुबीचको एकता हुने पनि उहाँको ठम्याइ छ ।
२०५२ साल फागुन १ गते सशस्त्र आन्दोलन सुरु गरेको दिनलाई माओवादीहरुले जनयुद्ध दिवसको रुपमा मनाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्