९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रमाणपत्र नभए पनि हामी सबै चोर हौं


0
Shares

-सन्जिव कार्की 

हुनत चोर्नु कला पनि हो भनेर चोरीलाई कला र सामर्थ्यको रूपमा बुझ्ने र परिभाषित गर्ने पनि गरिन्छ । तर चोरी आफैंमा ब्याभिचार हो । चोरी कुनै पनि आवरण र बहानामा ठिक होइन भन्ने कुरा हाम्रा धार्मिक ग्रन्थले पनि प्रष्ट पारेको कुरा जालान्न्धरको श्रीमती बृन्दाले भगवान विश्नु श्रापित भएर ढुङ्गा हुनु परेको, झार हुनु परेको, घाँस हुनु परेको, पत्थर हुनु परेको कथा माघ महिनाभर पढ्दै आइएको कथा हो । तसर्थ चोरी अनैतिक हो । इमानको खिलाफ हो । अपराध र पाप पनि हो । चोरीले कसैलाई पनि शान्ति र समृद्धि दिंदैन । चोरेर कसैको इज्जत र प्रतिस्ठा बढेको इतिहास छैन । चोरको इतिहास सत्यताको अंश कहिल्यै बन्दैन । अरुको हानी नोक्सानी हुने गरी चोरी हुने गतिविधि क्षमायोग्य पनि होइन । अबैध काम त्यतिबेलासम्म मात्रै बैध हुन्छ, देखिन्छ जतिबेला यो पक्राउ पर्दैन । चोरी कला नै भए पनि यो पूर्ण र निपूर्ण हुँदैन । अबैधानिक र अपराधिक काम कहिल्यै कला र सामर्थ्य बन्दैन । यस्तै आपराधिक कर्ममा आफ्नो पदको दुरुपयोग गरेको कारण मन्त्री गोकुल बाँस्कोटा अहिले चोरको दर्जामा दर्ज भएर सर्वत्र निन्दित र आलोचित छ्न ।

जनताले दिएको विश्वास र अख्तियारलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने दुष्टमन्त्री सामान्य चोर भन्दा महाअपराधी र दोब्बर दण्डको भागीदार हुनुपर्छ ताकि मन्त्री पद गुमाएर मात्र सजाय पुग्दैन । राष्ट्रको ढुकुटीको संरक्षण र सदुपयोग गर्ने अख्तियारी पाएका बाँस्कोटाले पदको आवरणमा चोरीको धन्दा चलाउन थालेको नेपथ्यको दृश्य बाहिर प्रकट भएपछि उनको असलियत यतिबेला छताछुल्ल भएको छ । आफ्नो गृहजिल्लामा प्रधानमन्त्री केपी ओलीबाट भरपुर प्रशंसा पाएको तीन दिनपछि उनका काला कर्तुत र अबैध धन्दाको फेहरिस्त बाहिरियो तब दुनियाँ चकित र स्तब्ध बन्यो । दुनियाँ चकित हुँदा प्रधानमन्त्री स्तब्ध र चकित बने कि बनेनन ?

विश्वासपात्र अत्यन्तै निकट र सरकारको प्रबक्ता समेत रहेको र सबैलाई तुलोमा राख्दा गोकुल बसेको तुलो भारी हुने र सरकारको बिरोध गर्नेले गोकुल हेर्दा चुपचाप रहनुपर्ने तर्क कति पानी माथीको ओभानो भयो ? जबाफ प्रधानमन्त्रीले पक्कै दिनेछन् । प्रधानमन्त्रीले गम्भीरतापूर्वक समीक्षा गरे होलान् । यदि समीक्षा गरेनन् भने त्यसको क्षति व्यक्ति प्रधानमन्त्री र पार्टी नेकपामा मात्रै सिमित बन्दैन देशले ठूलो आर्थिक खती बेहोर्नु पर्नेछ । आफ्नो विश्वासपात्रबाट भएको यो धोका हो या प्रधानमन्त्री कै अप्रत्यक्ष संलग्नता यसमा थियो, छ ? सबभन्दा महत्वपूर्ण र अन्वेषण गर्नुपर्ने पाटो यो हो ।

स्वीस एजेन्ट भनिएको बिजय प्रकाश मिश्रको कथनमा सत्यता छ भने प्रधानमन्त्री स्वयं पनि यो प्रकरणमा दोषभागी छन होला भनेर अनुमान गर्न सकिन्छ । होइन भने डेढ महिना अघि नै श्रवण गरिसकेको मन्त्री बाँस्कोटा र विजयबीचको अडियो कुराकानीलाई किन चुपचाप बसेर उल्टो गोकुललाई काँधमा बोकीरहे, स्नेहले पुल पुल्याइ रहे, पत्रकार र आन्तरिक पार्टी भित्रका प्रतिपक्षको विरुद्ध विष बमन गर्न उकास्दै बसे ? यहाँ प्रधानमन्त्रीको नियत पनि शंकाको घेरामा पर्ने देखिन्छ र सन्देहको लागि प्रशस्त ठाउँ छ । झन नैतिकता र इमानकै कुरा गर्ने हो र विश्वासघातीलाई विश्वास गर्नुको नैतिक दायित्व प्रधानमन्त्रीको भन्दा अतिशयोक्ती हुँदैन । दायित्वबोध नहुने कारण नै हामीमा नैतिकताको खडेरी पर्दै गएको हो ।

प्रधानमन्त्रीले नैतिकता देखाउन जति ढिलो गरे उति कमिसनको मतियार प्रधानमन्त्री हुन भन्ने धारणा बलियो बन्दै जानेछ । यहाँ कानुनी सफाइ र नैतिक दायित्व बिचको भेद यसरी पनि बुझ्न सकिन्छ । सफाइ पाउनु र सफा हुनु फरक र भिन्न कुरा हुन । कानुनी सफाइ भन्दा ब्यक्ति नैतिक रूपमा सफा हुनुलाई महत्त्वपूर्ण मान्न सकिन्छ । कानुनको कागजी सफाइ भन्दा सामाजिक रूपमा देखिने व्यवहारिक सफाइ नै इज्जतिलो हुन्छ । सफाइ त अदालतले कृष्णबहादुर महरालाई पनि दिएको छ । महरा बलात्कारी नहुन सक्छन्, नहोलान तर रोशनीशाहीसँग अनैतिक सम्बन्धमा बर्षौंदेखि रहेको सत्य आँखा चिम्लने विषय हुन सक्तैन । त्यो लेवलको मान्छेले यौनको मामलामा यो नग्नता समाजलाई पाच्य हुँदैन ।

प्रश्न र प्रसंग प्रधानमन्त्री कै नैतिकताको गरौं । प्रधानमन्त्री ओली यसअघि पनि अख्तियार अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले लिएको ७८ लाख घुस कान्डको फोन सुनेर पनि दुई महिना चुपचाप बसे त्यो पनि शंकास्पद थियो । त्यो दुई महिनासम्म चुपचाप बस्नुमा लेनदेन मिलापत्र र मोलमोलाइ थिएन भन्न सकिन्न त्यो शंकाको सुबिधा आम मान्छेलाई छ । किन राजनारायणले घुस लिएको प्रमाण पुग्दा पनि चुप बस्नुपर्‍यो ? थाहा पाउने बित्तिकै करिबकरिब एकहप्ता विषय विज्ञ बोलाएर बुझेर किन एक्सन लिन सकेनन् ? त्यो शृङ्खला फेरि किन दोहोरियो ? यदि विजय मिश्रको भनाइ सत्य प्रमाणित भयो भने प्रधानमन्त्रीले उम्कने भाग्ने र छल्ने ठाँउ कसरी रहला ? प्रधानमन्त्रीकै केयर र कन्ट्रोल यो सब सेटिङ भएको बुझ्नु आपत्ती जनक होला र ? ठूल्ठूला भ्रष्ट्राचार, कमिसन र घुस सबैमा ठूल्ठूला मान्छेहरुको हात रहन्छ जहाँ ब्यक्ति ब्यक्ति होइन टिमको संलग्नता त सक्रियता रहन्छ । भन्छ्न नि-Corruption is a team game, भ्रस्टाचार रुपी खेलमा टिमको संलग्नता सहित आ–आफ्नो रोलमा विभिन्न तह र तप्काका खेलाडीले भुमिका निभाएका हुन्छन् । अरु खेलमा झैं यसमा पनि टिमको सर्पोटर र फ्यान पनि हुने गर्छन् । जति ठुलो भ्रष्टाचार, कमिसन उति नै ठूलो टिम ,खेलाडी र समर्थक पनि ।

अनेकन कारण र बहानामा कमिसनखोर र भ्रष्टाचारीको समर्थनमा उत्रने हामी जनता पनि चोरीका हिस्सेदार हौं । चोरलाई प्रियपात्र सम्झने उसकै गुणगान गाउने, चोरी पक्रन होइन जोगाउन भुमिका खेल्ने हामी सब चोर हौं । हो हामी सबै पक्राउ परेका छैनौं । चोरी गर्दागर्दै भेटिएका छैनौं । चोरीको आरोप र अभियोगमा जेल गएका छैनौ तर हामी प्रमाणपत्र हात नपरेका चोर हौं । चोरी गर्न सिकाउने, उक्साउने, पक्राउ पर्‍यो भने बचाउन शक्ति र पदको दुरुपयोग गर्ने, चोरी गर्दा आँखा चिम्लेर सघाउने सबै हैसियत अनुसारका चोर र चोरीका मतियार छौं । समस्या यहाँ चोर सबै भयौं । पार्टीहरु सबै चोर भए, जनता जनार्दन सबै चोर भयौं । पत्रकार चोर, शिक्षक चोर, प्रहरी चोर, आर्मी चोर, कर्मचारी चोर, न्यायाधीश चोर, वकिल चोर, डाक्टर चोर, समाजसेवी चोर, उधमी, ब्यापारी चोर ,अभियन्ता चोर । साहित्यकार चोर ,कलाकार चोर, किसान चोर, मजदुर चोर । पुजारी चोर, महात्मा चोर, साधुर सन्त चोर आफ्नो स्थानबाट नैतिकता अनुसारको काम कर्तव्य र जिम्मेवारी बहन नगर्ने सबै सबै चोर । राज्यले दिएको कर्तव्य र दायित्व भन्दा जो पर जान्छ ती सबै चोर हुन ।

माथी उल्लेख गरिएका पेसा , ब्याबसाय र सेवा सबैको भुमिका चुकेको पाइन्छ । भुमिकाच्युत हुनेहरू निसन्देह चोर हुन । राज्यको मूल नीति राजनीति नै चोरहरुको अखाडा बन्यो । राजनीति मार्फत देश चलाउन पुग्ने राष्ट्रपति चोर, प्रधानमन्त्री चोर, मन्त्री चोर, राज्यमन्त्री चोर, सहायकमन्त्री चोर, सांसदहरु चोर, जनप्रतिनिधीको प्रतिनिधित्व गर्ने वडा सदस्यदेखि राष्ट्रपतिसम्म चोर । अप्रिय र कटु लागेपनि आजको वास्तविक चित्र र चरित्र यही हो ।

राजनीतिक अगुवाले चोर्न सिकाएकोले, कर्मचारी चोर बने, कर्मचारी चोर बनेकोले जनता चोरीलाई सामान्य ठान्दै चोर्न थाले । फलस्वरूप पशुपतिमा सजाइएको फूल होस कि काठमाडौं तीनकुनेमा रोपिएको दुवो जनता बिना हिचकिचावट, लज्जावीहिन भएर चोर्न थाले । सार्वजनिक सम्पत्ती चोर्नु र लुट्नुलाई अपराध सम्जझन छोडियो । चोरी संस्कृति मौलायो र झांङियो । यसको सम्पूर्ण दोष राजनीतिक पार्टी र तिनका नेता अनि सत्तामा रहने बस्ने र बसेकाहरूले लिनुपर्छ । आफ्नो अत्यन्तै नजिकको प्रिय पात्रले गरेको चोरीको दोष आफ्नो कारण, आफ्नो असक्षमताको कारण भनेर जबसम्म स्वीकार गरिन्न तबसम्म गोकुल बाँस्कोटा, विजय गच्छदार, चिरञ्जीवी वाग्ले, खुमबहादुर खडका जस्ता थुप्रै पात्र र प्रवृति राजनीति र सत्तामा जन्मी रहन्छन् , पुगीरहन्छ्न, देश चुसिरहन्छन् । शुद्धता आफ्नो मात्रै मापनयोग्य हुँदैन आफ्नाको पनि हुन्छ ।