
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना अझै रहेको बताउनुभएको छ ।
उहाँले युक्रेनमा हमला गरे रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभएको छ ।
टेलिभिजनमा प्रसारित सम्बोधनमा उहाँले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको पनि बताउनुभयो ।
राष्ट्रपति बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको दावी गर्नुभयो ।
बाइडनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको बताउनुभयो ।
उहाँले रुसी नागरिकहरूलाई सम्बोधन गर्दै बाइडनले उनीहरू आफ्ना शत्रु नभएको पनि स्पष्ट पार्नुभएको छ । तर, हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार रहेको पनि उहाँको भनाइ छ ।
यता रुसले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ । राष्ट्रपति भ्लालिदिमिर पुटिनले मस्कोका सुरक्षा चासो सम्बोधन हुनुपर्ने र त्यसलाई गम्भीरतापूर्वक लिइनुपर्ने भनेको केही घण्टापछि बाइडनको सम्बोधन आएको हो ।
राष्ट्रपति पुटिनले हमलाको योजना बनाइरहेको भन्ने कुरालाई यसअघिदेखि नै अस्वीकार गर्दै आउनुभएको छ । तर त्यस क्षेत्रमा नोभेम्बर महिनायता तनाव बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्