
काठमाडौं । आज ७२ औं प्रजातन्त्र दिवस । स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.सं. १९९७ माघमा बलिदानी दिनु भएको थियो ।
प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्