
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयू बढिमा एक वर्षमात्रै रहेको दाबी गर्नुभएको छ ।
शनिबार भक्तपुरको सुर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि अहिलेको सरकार हट्ने बताउनुभयो ।
उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरूलाई आगामी निर्वाचनमा पानीमा गए पनि आफ्नो पार्टीले नछाडने चेतावनी दिनुभयो ।
‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ, बच्ला कहाँ पानीमुनि गए पनि यो स्वार्थी गठबन्धन, बच्नै सक्दैन,’ उहाँले भन्नुभयो, ‘संसारभरीका जोतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– सरकारको आयू बढिमा एक वर्ष हो ।’
अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरूलाई एमालेमै फर्कनसमेत आह्वान गर्नुभयो । प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरूलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन उहाँको आग्रह छ ।
अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दूरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढ्न आफ्नो पार्टी सक्षम रहेको दावीसमेत गर्नुभयो । उहाँले निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्