
काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरूले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दी बारे विज्ञहरूसँग गरेको छलफलमा देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन् ।
छलफलमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा प्राध्यापक त्रिरत्न मानन्धरले त्रिभुवन विश्वविद्यालयको समस्याको समाधान तालाबन्दीबाट नहुने बताउनुभयो । उहाँले पछिल्लो समयमा विश्वविद्यालयमा भइरहेका घटनाक्रमका कारण आफू त्रिविको प्राध्यापक हुँ भन्न पनि आत्मग्लानी हुने गरेको बताउनुभयो ।
त्यस्तै प्राध्यापक राजकुमार पोखरेलले ताला लगाएर कुनै पनि समस्या समाधान नहुने भन्दै पदाधिकारी र विद्यार्थीहरूले छलफल र संवादबाट नै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय बेलामा विद्यार्थीहरूले विषय एक तर माग अर्को हुने गरेको पनि बताउनुभयो ।
प्राध्यापक पोखरेलले कुनै पनि देशलाई बिगार्न सबैभन्दा पहिला देशको शिक्षामा आक्रमण हुने गरेको र अहिलेको परिवेशमा नेपालमा शिक्षामाथि नै आक्रमण भइरहेको बताउनुभयो । उहाँले विद्यालयहरू राजनीतिक पार्टीहरूको षड्यन्त्र गर्ने ठाउँ नभएको भन्दै राजनीतिक गुट र पार्टीहरूलाई शिक्षामा असर पार्न दिनबाट रोक्न सक्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताउनुभयो । देश संघीयतामा गएको भने पनि भागबण्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको उहाँको भनाइ छ ।
चेम्जोङले हरेक प्रदेशमा सरकारले एक/एक वटा विश्वविद्यालय खोल्नुपर्ने माग राख्नुभयो । विश्वविद्यालय अहिले जागिर खाने थलो मात्रै भएको र त्रिविमा धेरै विद्यार्थी बनाएर विश्वको ¥याङ्किङमा जाने लोभका कारण शिक्षाको विकासमा ध्यान दिन नसकेको उहाँको भनाइ छ ।
प्राध्यापक चेम्जोङले राजनीतिक दलहरूप्रति व्यंग्य गर्दै सरकारले त्रिवि जस्ता १० वटा अन्य विश्वविद्यालय स्थापना गरेर पार्टीका मान्छेहरूलाई स्थान दिन सुझाव दिनुभयो ।
छलफलमा प्राध्यापक विनोद जोशीले प्राध्यापकहरू विद्यार्थीसँग डराएर हिँड्नुपर्ने बेला आएको भन्दै नागरिक समाजको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्रिवि आफैँमा समस्याको भण्डार भएकोले दीर्घकालीन रूपमा समस्या समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, प्रध्यापक प्रेमबहादुर चलाउनेले विद्यार्थीको तालाबन्दी सरुवा, बढुवा र नियुक्तिसँग हुने गरेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालय र प्राध्यापकहरूले अपराधीहरूलाई अपराधीकै तरिकाबाट उपचार नगर्दा समस्या आइरहेको बताउनुभयो ।
प्राध्यापक चलाउनेले आफूमाथि गत वर्ष भएको आक्रमण विश्वविद्यालयका विद्यार्थीबाट नभइ पैसा दिएर किनेका गुण्डाहरूबाट भएको दाबी गर्नुभयो ।
त्यस्तै प्राध्यापक राजन आचार्यले आंशिक प्राध्यापकहरूको माग समान कामको समान पारिश्रमिक भएको भन्दै प्रतिस्पर्धाबाट स्थायीमा जान आफूहरू तयार रहेको बताउनुभयो ।
बैठकमा ज्ञान गोष्ठीका सदस्य सुशील प्याकुरेलले शिक्षा क्षेत्र र विश्वविद्यालयको तरिकालाई परिमार्जन गरेर कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । विश्वविद्यालयहरुले राष्ट्रिय विषयहरूमा गहन छलफल गरेर त्यसको चिरफार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
सदस्य प्याकुरेलले अन्य देशमा राष्ट्रिय मुद्दाहरूमा विश्वविद्यालयका प्राध्यापकहरूसँग सञ्चारमाध्यमहरूले छलफल गर्ने गरे पनि नेपालमा भने आजसम्म कुनै वहस हुन नसकेको आरोप लगाउनुभयो । उहाँले विश्वविद्यालयहरू पनि देशका मुद्दाहरूमा खुलेर यथार्थतालाई बाहिर ल्याउनेतिर लागि नपर्नु दुःखद भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्