
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमसीसीको विरोध गर्नेहरूलाई लाठी चार्ज गर्न आदेश नदिँदा प्रदर्शनकारीको ढुंगामुढाबाट प्रहरी घाइते हुनुपरेको बताउनुभएको छ ।
कालुपाण्डे समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रदर्शनकारीको तुलनामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि सत्ताधारी गुटले नै प्रहरीमाथि ढुंगा प्रहार गर्न उनीहरूलाई परिचालन गरेको आक्षेप लगाउनुभयो ।
सरकारमा हुने क्रान्तिकारीहरूले सडक भत्काएर प्रहरीमाथि इँटा प्रहार गर्दा पनि सडक नभत्काउ भन्ने कोही नभएकोमा उहाँले आश्चर्य प्रकट गर्नुभयो ।
अध्यक्ष ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेरै सडकमा प्रहरी किन पठाउनुहुन्छ, ढुंगा हान्ने मात्र आदेश थियो या अरु के के थियो भनेर प्रश्न समेत गरेको बताउनुभयो ।
एमसीसीलाई संसदमा टेबल र पास गर्ने षड्यन्त्रमा लागेको सरकार चुप लागेर बस्ने तर एमसीसीकै विरोधमा सडक र सदन दुवैमा नारा लगाउन समेत उचाल्ने गरेको आरोप ओलीको छ ।
सरकार देशप्रति जिम्मेवार नरहेको भन्दै उहाँले सत्तासीन गुटको दोहोरो गलत नीतिका कारण अहिलेको परिस्थिति सिर्जना भइरहेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्