
काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको आग्रह नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्नुभएको छ ।
आफ्ना पूर्ववत् मागहरु सम्बोधन भएपछि मात्रै प्रधानमन्त्रीको आग्रहमा सोच्न सकिने ओलीको भनाइ छ ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्का उपाध्यक्ष विष्णु पौडेललाई लिएर बालुवाटार पुग्नुभएका ओलीले माधव नेपालसहित १४ सांसदमाथि पार्टीले गरेको कारबाहीलाई निष्कर्षमा पुर्याउनु पर्ने बताउनुभएको हो ।
एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीलाई कांग्रेसले साथ दिएसम्म अन्य विषयमा सहकार्य हुन नसक्ने ओलीको अडान रहेको बुझिएको छ ।
सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारित गराउन असहयोग गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री देउवाले विपक्षी एमालेको साथ खोजिरहनु भएको छ ।
गत शुक्रबार बालकोट पुग्नुभएका देउवाले मंगलबार एमाले नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गर्नुभएको हो ।
एमालेले यसअघि सभामुख सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेकाले उहाँलाई समेत हटाउनुपर्ने बताए पनि मंगलबारको भेटमा त्यो विषयमा कुराकानी नभएको नेताहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्