१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमीलाई


39
Shares

कैलाली । अत्तरियाको सत्यवती एकेडेमीले छैठौं संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको उपाधि जितेको छ ।

धनगढीको विद्याभुषण पब्लिक स्कुललाई १ सय ६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवतीले १९ वर्षमुनिको विद्यालयस्तरीय प्रतियोगिताको उपाधि जितेको हो ।

धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा विद्याभुषणले १२ दशमलब १ ओभरमा ८९ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा विद्याभुषणका नुरेन विष्टलेसर्वाधिक ३१ रन तथा प्रशान्त थापाले १३ रन बनाउनुबाहेक अन्य ब्याटस म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेट क्षतिमा २ सय ५० रन बनाएको थियो । सत्यवतीको ब्याटिङमा अन्डर १९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए ।

उपाधिसहित सत्यवती एकेडेमीले एक लाख पचास हजार रुपैयाँ तथा उपविजेता विद्याभुषणले पचहत्तर हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताकै उत्कृष्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्र्की चुनिए । उनले २० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै उत्कृष्ट ब्याट्सम्यान विद्या भुषणका वीरेन्द्र नाथ तथा उत्कृष्ट बलर हिमालयन व्हाइट हाउसका दिपक बोहरा घोषित भए । उनीहरूले जनही दश हजार रुपैयाँ प्राप्त गरे ।