१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस कैलालीको जिल्ला अधिवेशन आज हुँदै


65
Shares

कैलाली । नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन आज आइतबार हुँदैछ ।

पार्टीको नयाँ नेतृत्वका लागि ३ जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार पूर्व–उपसभापति नारायणदत्त भट्ट, अहिलेका जिल्ला उपसभापति प्रकाश बहादुर बम र रामबहादुर कलेलले प्यानलसहित उम्मेदवारी दिएका छन ।

पार्टीको आन्तरिक चुनावी प्रतिस्पर्धामा रहेका तीन जनामध्ये भट्ट र बम संस्थापन पक्ष र कलेल संस्थापन इतर शेखर कोइराला पक्षका मानिन्छन । नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल, रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बीसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।

यसअघि जिल्ला सभापतिमा उम्मेदवारी दिने बताउँदै आउनु भएका नेता बडुवालले भट्टलाई समर्थन जनाउँदै उहाँकै प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिनुभएकाे हाे । बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेद्वारी दिएका छन ।

कलेलको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिएका छन ।

निर्वाचन समितिका अनुसार आइतबार बिहान नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुने उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्नेछ ।

तर कैलालीमा ३ जना चुनावी मैदानमा भएकाले पहिलो चरणमै सभापतिको छिनोफानो हुने सम्भावना कम रहेको नेताहरु बताउँछन ।

विराज रोस्यारा