
काठमाडौं । दाङको गढवा गाउँपालिका २ महादेवा पुलमा कार र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दाङको देउखुरी क्षेत्रमा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार राप्ती गाउँपालिका–७ बस्ने सिमासर चौधरीकी १० वर्षीया छोरी सन्ध्या चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा दाङकै लमही अस्पतालमा मृत्यु भएको हो ।
मंगलबार राति गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ४ प ३४६१ नम्बरको मोटरसाइकल गढवा– २ महादेवा पुल नजिकै ठोक्किएर दुर्घटना भएको दाङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी मोटरसाइकलमै पछाडी सवार सोही स्थानकी ४० वर्षीया बेद कुमारी चौधरीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ भने पैदलयात्री लमही नगरपालिका ८ असनीका २८ वर्षीय पारस बोहोराको सरुमा अस्पताल लमहीमा उपचार भइरहेको छ ।
मोटरसाइकल र कार चालकलाई इलाका प्रहरी कार्यालय गढवा दाङले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्