
काठमाडौं । बाँकेमा तीन थान हतियारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोक सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् ।
गोली पड्किएजस्तो आवाज आएपछि ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगञ्जबाट राप्ती नदीतर्फ जाँदै गर्दा सुसान्तले चलाएको बागमती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा हतियार फेला पारको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्