१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीशविरुद्धको महाभियोगको प्रस्ताव अलपत्र पर्दैन : मन्त्री बडू

दर्ताका लागि मात्र महाभियोग ल्याइएको एमालेको तर्क

767
Shares

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अलपत्र नपर्ने बताउनुभएको छ ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै उहाँले प्रतिनिधिसभाको अबको बैठकले महाभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाउने दाबी गर्नुभयो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तापक्षले ल्याएको महाभियोग दर्ताका लागि मात्र ल्याइएको बताउनुभयो ।

प्रधानन्यायाधीश जबराविरुद्ध छापामार शैलीमा महाभियोग प्रस्ताव दर्ता गरिएको र यस बारेमा अहिलेसम्म नेकपा (एमाले)सँग कुरा नभएको उहाँको भनाइ छ ।

उपनेता नेम्वाङले संसद नचल्नु सत्तापक्षको लागि ठूलो र गम्भीर विषय भए पनि अहिलेको सरकार र सभामुखले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लगाउनुभयो ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव संसदबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

नैतिकहीन, गैरजिम्मेवार र संविधानले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने अयोग्य जबरालाई कुनै राजनीतिक दलले समर्थन नगर्ने उहाँको तर्क छ ।