
काठमाडौं । महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले धुमधामसँग बिहीबार ग्याल्पो ल्होसार मनाउने परम्परा छ ।
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ वर्ष सुरु हुन्छ । यस पटक बाँदर वर्ष पूरा भई चरा वर्ष सुरु भएको छ ।
शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने विश्वास रहेको छ ।
ल्होसार तिब्बतिय राज परम्पराबाट आएको र ल्होसार शब्द पनि तिब्बतीयन भएको बौद्ध धर्मावलम्बी पासाङ लामाले जानकारी बताउनुभयो । ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्