
काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनसम्बन्धी आचारसंहिता सञ्चारमाध्यमहरूलाई नियन्त्रण गर्ने नभइ नियमनको लागि बनाइएको बताउनुभएको छ ।
बिहीवार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाईंले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरूलाई अन्त्य गर्न सहयोग गर्ने बताउनुभयो ।
‘विज्ञापनको आचारसंहिताले विज्ञापनको गुणस्तर वृद्धि गर्न, विज्ञापन बजारको नियमन गर्न, विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरूलाई अन्त्य गर्न मद्दत गर्छ,’ उहाँले भन्नुभयो, ‘आचारसंहिता विज्ञापन बजारलाई अंकुशन गर्न, संकुचन गर्न, नियन्त्रण गर्न आएको होइन, विज्ञापन बजारमा भएका केही गलत प्रवृत्तिहरूलाई अन्त्य गर्न र विज्ञापन बजारलाई व्यवस्थित पारदर्शी बनाउन आएको हो ।’
आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने भन्दै अध्यक्ष हुमागाईंले विज्ञापन दाताहरूलाई छनोटको सुविधा उपलब्ध हुनुपर्ने र उपभोक्ताहरूलाई प्रतिकुल हुने गरी विज्ञापन गर्न नहुने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
उहाँले थप्नुभयो, ‘विज्ञापन दाताहरुलाई छनोटको सुविधा उपलब्ध हुनुपर्ने र उपभोक्ताहरु त्यसबाट ठगिनु नहुने वा उपभोक्ताहरुलाई प्रतिकुल हुने गरी विज्ञापन गर्न नहुने विषय नै मुख्य जोड हो ।’
अध्यक्ष हुमागाईंले केही सञ्चारमाध्यमहरूले आफू स्वनियममा बस्छु भने पनि आफूखुशी विज्ञापनका दररेटहरू कायम गर्ने गरेको बताउनुभयो ।
‘समस्या विज्ञापन एजेन्सीमा मात्र होइन, सञ्चारमाध्यम र विज्ञापन दातामा पनि समस्या छ,’ उहाँले भन्नुभयो, ‘यसलाई नियमन गर्न कुनै एक पक्षको मात्रै सहभागिताले सफल भइँदैन ।’
प्रतिक्रिया दिनुहोस्