
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशिघ्र जारी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।
‘नेपालको संविधानले ट्रेड युनियनको अधिकारलाई संविधानमै व्यवस्था गरेको छ,’ उहाँले भन्नुभयो, ‘संघीय निजामती सेवा ऐनलाई यथाशिघ्र जारी गरी यसलाई कार्यान्वयनमा लैजान सरकार क्रियाशील छ, कर्मचारी समायोजनको सन्दर्भमा देखिएका समस्या पारस्परिक छलफलको आधारमा समाधान गरी उनीहरूलाई सन्तुष्ट बनाउने काम गरिनेछ ।’
प्रधानमन्त्री देउवाले जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । राजनीतिक आस्थाका आधारमा सेवा प्रवाह गर्न नहुनेतर्फ पनि उहाँले सचेत गराउनुभयो । जनताको सेवकको रूपमा कर्मचारीहरुले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले कर्मचारीहरू जनताको निरन्तर सम्पर्कमा रहने हुनाले उनीहरूले आफ्नो छवीलाई स्वच्छ बनाइराख्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्