
काठमाडौं । एनसेलले ५१ पैसा प्रति मिनेटमा नेपालका जुनसुकै नेटवर्कमा कल गर्न सकिने ‘अल नेपाल भ्वाइस प्याक’ अफर ल्याएको छ ।
अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् ।
फागुन २३ गतेबाट सञ्चालनमा आएको अफर अन्तर्गत ग्राहकले कर सहित १४ देखि ३८५ रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ । यी अफरहरू १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसीमाका हुन् ।
ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित १४ रुपैयाँमा लिन सक्छन् भने ३ दिन समयसीमा रहेको ६५ टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन् ।
त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसीमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिपेड ग्राहकले सजिलै *17118*3# डायल गरी आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनोट गर्नसक्ने कम्पनीले जनाएको छ ।
अलि धेरै समयसीमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् ।
यसका साथै ग्राहकका लागि २८ दिन समयसीमा रहेको दुई वटा अन्य प्याकहरू पनि छन् जस अन्तर्गत ग्राहकले २६५ रुपैयाँमा ४७५ मिनेट टक टाइम र ३८५ रुपैयाँमा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् ।
आफ्ना ग्राहकका लागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्