
बिर्तामोड । काठमाडौंको संकटा क्लब पाँचौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५औं मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो ।
पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ६३औं मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे । खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न नसक्दा सान्त्वना गोलसमेत फर्काउन सकेन ।

मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।
खेलपछि थ्री स्टारका प्रशिक्षक रविन्द्र सिल्पकारले लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए ।
त्यस्तै, विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको प्रतिक्रिया दिए । उनले संकटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको बताए ।
बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुनेछ ।
आयोजकले मंगलबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरू महिला मात्र थिए ।
प्रतिक्रिया दिनुहोस्