
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्रमा चुनाव चिन्ह हरियो मसीको छपाइ गर्ने निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमाले रुष्ट छ ।
माधवकुमार नेपालको दल दर्ता प्रक्रियामा विवादास्पद निर्णय गरेकोप्रति अदालत नै धाएको एमाले चुनाव नजिकिँदै गर्दा आयोगसँग पुन असन्तुष्ट बनेको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका आफूविरुद्ध लागेको निष्कर्षमा पुगेको एमाले निर्वाचन आयोगप्रति पनि सशंकित बनेको छ ।
आगामी वैशाख ३० गते हुने एकै चरणको निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव केन्द्रीत गतिविधिमा जुटिरहँदा आयोगले निर्वाचनका लागि ८० दलले दिएको निवेदन उपर जाँचबुझको काम गरिरहेको छ ।
यसैबीच गत सोमबार आयोगले मतपत्र छपाइमा हुने चिन्ह, विवरण तथा सुरक्षण चिन्हहरू हरियो मसिले छपाइ गर्ने निर्णय गरेपछि प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आयोगप्रति खनिनुभएको छ ।
उहाँले आँखा कमजोर हुनेहरूले रुखै रुख देखोस् भन्ने हेतूले आयोगले यस्तो गरेको हुनसक्ने आशंका गर्दैै यो कदम सच्याउन आग्रह गर्नुभयो ।
एमाले अध्यक्ष ओलीको सवाललाई आयोगले विगतका कतिपय निर्वाचनको अभ्यासलाई हेरेर विवादास्पद नबन्ने हेतुले यस पटक हरियो रङ प्रयोग गर्ने निर्णय भएको तर्क गरेको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्याल, यसअघि पनि आयोगले हरियो रङको प्रयोग गरेको बताउनुहुन्छ ।
उसो त अध्यक्ष ओली ले हरियो मसिलाई मान्य नहुने भन्दै आयोगले आफ्नो त्रुटि सच्याउनुपर्ने जिकिर गर्नुहुन्छ । तर आयोग भने आफ्नो निर्णयप्रति अस्पष्ट भए राजनीतिक दल र आयोगबीच छलफल गरि अघि बढ्न सक्ने मध्यमार्गी बाटो भएको बताउँछ ।
एमालेले आफ्नो प्रतिस्पर्धी कांग्रेसलाई ठानेको छ । रङकै आधारमा मतदान प्रभावित हुन्छ भन्ने बुझाइ दृष्टिदोष हो या सस्तो फण्डा खोज्ने बहाना, त्यसको भने छिनोफानो हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्