
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैंले पूँजी जुटाएर ठूला परियोजना अघि बढाउन निर्देशन दिनुभएको छ ।
लगानी बोर्ड अन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
बोर्डका उपाध्यक्षसमेत रहनुभएका अर्थमन्त्री शर्माले निजी क्षेत्रसँग छलफल गरी निर्यातमा आधारित परियोजनाका लागि पूँजी कोषको निर्माण गर्न बोर्डलाई सुझाव दिनुभयो ।
कूल गार्हस्थ उत्पादन र पूँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने परियोजनाहरू परिकल्पना गरी लगानीका लागि अग्रसरता लिन उहाँले बोर्डलाई आग्रह गर्नुभयो ।
अर्थमन्त्री शर्माले ठूला विदेशी लगानीकर्तालाई बोर्डबाट एकल विन्दु सेवा दिने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले विदेशी लगाानीकर्ताहरू आफैं परियोजना छनोट गरेर वा नेपालको परियोजनामा लगानी साझेदार भई आउने गरेका कारण सबैलाई समान व्यवहार गरी सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
अर्थमनत्री शर्माले परपम्परागत विकासको संस्कृतिलाई बदलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । लगानी बोर्डमा आउने परियोजनालाई अध्ययनका लागि भन्दै लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक नभएको उहाँको भनाइ छ ।
बैठकमा बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उत्पादनमा आधारित ठूला परियोजना लागि उद्योग लगाउने ठाउँको बारेमा नीतिगत निर्णय गरी विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
बोर्डमा अटोमोबाइल उद्योग स्थापनाका लागि दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले प्रस्ताव गरे पनि उद्योग स्थापनाका लागि स्थान छनोट गर्न नसकेको बताउँदै उहाँले विशेष आर्थिक क्षेत्रमा जानलाई निर्यातमा आधारित हुनुपर्ने मापदण्डले असर गरेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्