१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संशय र विश्वासको दोसाँधमा सत्ता गठबन्धन


455
Shares

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढालेर नयाँ गठबन्धन बनेसंगै सुरु भएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको सहयात्रा आस र त्रासमा अघि बढेको छ ।

एमसीसी प्रकरणले डिल डिलमा पुगेर पुर्नजीवन पाएको यो सम्बन्ध स्थानीय निकायको चुनावी माहोलसँगै संशय र विश्वासको दोसाँधमा उभिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गठबन्धन कायम राखेर चुनावी मैदानमा जाने अभिव्यक्तिपछि बालुवाटारबाट हौसिएर फर्किने गठबन्धन दलका नेताहरू त्यही पार्टी दोस्रो तहका नेताहरूको अभिव्यक्ति सुनेपछि खङरङ्ग हुने गरेका छन् ।

आफूहरूको सदाशयतामा यो सरकार बनेको र कांग्रेसलाई सत्ताको श्रीपेच बुझाएको घमण्ड प्रचण्ड र माधव नेपालमा रहेको छ । यता प्रधानमन्त्री देउवाबाहेक कांग्रेसका नेताहरू कम्युनिष्टले सत्ता टिकाउन नसकेर कांग्रेसलाई सत्ताको साँचो दिएको जिकिर सार्वजनिक रूपमै गर्दै आएका छन् ।

अझ कांग्रेस केन्द्रीय समितिले केन्द्रीय नेतृत्व तहका प्रतिनिधिलाई एक महिना ७७ जिल्लामै पठाएर त्यही रिपोर्टका आधारमा चुनावी रणनीति बनाउने निर्णय गरेपछि गठबन्धनमा थप शंका र उपशंका जन्मिएको हो ।

यद्यपि प्रधानमन्त्री देउवाले ताली खान गरिएको भाषणलाई रणनीतिका रूपमा नबुझ्न बारम्बार गठबन्धन दलका नेताहरूलाई सम्झाउने गर्नुभएको छ ।

त्यसो त कांग्रेस नेताहरूको भाषणबाट बिच्किनुभएका प्रचण्ड र नेपाललाई मत्थर पार्न हरेक कार्यक्रममा देउवाले आफ्ना कार्यकर्तालाई गठबन्धन विरुद्ध नबोल्न उर्दी लगाउने गर्नुभएको छ । यद्यपि गठबन्धनभित्रकै जनता समाजवादी पार्टीभित्र भने यो विषयले प्रवेश पाएको छैन ।

कांग्रेसभित्र चुनावमा अन्य दलसँग तालमेल गरी आफ्ना मतदातालाई अर्को चुनाव चिन्हमा भोट हाल्न लगाउने, सत्तारूढ दलबीच समीकरण नगर्दा गठबन्धन भत्किने र वाम पार्टीहरूबीच तालमेल हुने जोखिम रहने वा स्थानीय तहलाई तालमेलको अधिकार दिने भन्नेमा मत बाझिएको छ ।

गठबन्धन र कांग्रेसभित्रै चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने बहसको विषयले प्रचण्ड र माधवहरूलाई थप पेचिलो बन्दै गएको छ ।
सरकारको नेतृत्व गरेको कांग्रेसले तत्काल तालमेल आफ्नो प्राथमिकता नभएको र एक महिने चुुनावी अभियानपछि मात्र स्थानीय निर्वाचनमा अन्य दलसँगको गठबन्धनबारे निर्णय लिने प्रष्ट पारेपछि माओवादी र नेकपाएस द्विविधामा देखिन्छन् ।

कांग्रेसले चुनावी तालमेलमा ठोस निर्णय लिन अझै एक महिना समय लिँदै गर्दा गठबन्धनमा हुनसक्ने सम्भावित खटपटले समस्या उत्पन्न हुने बुझाइ गठबन्धनको छ ।

माओवादी केन्द्रले त गठबन्धनविनाको चुनावमा जान सक्ने परिस्थिति सामना गर्न त्यही अनुसारको रणनीति बनाउने भएको छ । गठबन्धनका कुनै दललाई एक्लो चुनावमा गएर बहुमत पाउँछु भन्ने विश्वास छैन ।

आफूलाई भोट बैंक ठान्ने कांग्रेस र सरकारको निर्माता भएको ठान्ने दाहाल–ओलीले एक कदम पछाडि फर्किएर आवश्यकताको सिद्धान्तअनुसार निर्णय लिन जरुरी छ । माछा देखे भित्र हात, सर्प देखे बाहिर हातको रणनीतिले कसैलाई फाइदा नहुने निश्चित छ ।