
काठमाडौं । चुनावी प्रचार अभियान सम्पन्न गर्न ७७ वटै जिल्लामा कांग्रेस कार्यसमितिको बैठक बसिरहेकाे छ ।
आइतबारदेखि एक महिनासम्म कांग्रेसले स्थानीय चुनाव केन्द्रित प्रचार अभियान गर्दैछ । पार्टी र भ्रातृ संस्थालाई व्यापक रुपमा परिचालन तथा केन्द्रको निर्णय कार्यान्वयन गर्नका लागि सबै जिल्ला कार्यसमितिले बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा कांग्रेसले ७७ केन्द्रीय नेतालाई सबै जिल्लामा खटाएको छ । पार्टी निर्णय अनुसार अधिकांश नेताहरू तोकिएको जिल्लामा पुगिसकेका छन् । केन्द्रबाट पठाइएका नेताको सहभागितामा जिल्ला कार्य समितिको बैठक बस्ने भएको हो ।
केन्द्रले बनाएको कार्यक्रमलाई प्रभावित नहुने गरी जिल्ला र प्रदेशले थप कार्यक्रम गर्नसक्ने कार्यदेश समेत मातहतका संरचनालाई दिइएको छ । प्रचार अभियानमा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ ।
जनताको गुनासो सुन्ने र कांग्रेसले गरेका सुधारका कार्य सुनाउने कार्य अभियानमा हुनेछ । भेला, प्रशिक्षण, सम्मानलगायत कार्यक्रम पनि अभियानमा समेटिएको छ । कार्यकर्तालाई भूमिका दिएर प्रचारमा खटाउने कांग्रेसले नीति लिएको छ ।
प्रतिक्रिया दिनुहोस्