
काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आगामाी स्थानीय तहको निर्वाचनमा आचारसंहिता पालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार आयोगमा भएको अन्तरक्रिया र छलफलमा दलहरूले आचारसंहिता पालनामा प्रतिबद्धता व्यक्त गर्दै पालन गराउनका लागि आयोगलाई पनि शुभकामना दिएका छन् ।
छलफलमा स्थानीय तह निर्वाचनको तयारीको सन्दर्भमा आयोगले अहिलेसम्म सम्पादन गरेको कामहरूको बारेमा जानकारी गराउँदै दलहरूसँग आयोगले गरेका अपेक्षाका सन्दर्भमा कुराकानी भएको आयोगका सहप्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यस्तै, राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ दलहरूले दल दर्ता गर्दा कायम भएका चिन्हहरू नै पाउनेपर्ने अडान राख्नुभएको छ । त्यसका लागि निर्वाचन आयोगले सहयोग गरिदिन पनि उनीहरूले आग्रह गरेका छन् ।
छलफलमा चुनावी खर्चको सन्दर्भमा पनि केही ठूला दलहरूले असन्तुष्टि जनाएका छन् । अहिलेको महंगी र मुद्रास्फ्रितिको सन्दर्भमा अहिले आयोगले तोकेको चुनाव खर्च समय सान्दर्भिक नभएको बताएका थिए ।
तर, अधिकांश दलहरूले आयोगले तोकेको चुनावी खर्च ठिक भएको बताएका छन् । चुनावी खर्च बढाउँदा निर्वाचनपछि अनियमितता र भ्रष्टाचार बढ्ने भएकाले पनि अकुंश लगाउन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
छलफलमा मतपत्रको रङको सन्दर्भमा पनि सामान्य छलफल भएको आयोगका सहप्रवक्ता शर्माले जानकारी दिनुभयो । पछिल्लो दिनमा आयोगले हरियो रङमा चुनाव चिन्ह छाप्ने भनेपछि एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्