१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय निर्वाचन : उपलब्धि जोगाउने ध्याउन्नमा एमाले, कांग्रेस ढुक्दै माओवादी र एकीकृत समाजवादी


2.08k
Shares

काठमाडौं । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचन नजिकिँदै गएपछि दलहरू अघिल्लो चुनावको वर्चश्व जोगाउन चुनाव केन्द्रीत अभियानमा जुटेका छन् ।

२०७४ को चुनावमा एमाले पहिलो दल बन्दा नेपाली कांग्रेस, माओवादी र समाजवादी फोरम नेपालले सम्मानजनक परिणाम ल्याएका थिए भने कांग्रेस र माओवादीको केही स्थानीय तहमा चुनावी तालमेल बनेको थियो ।

त्यसबखत एमालेले २ सय ९४ स्थानीय तहको प्रमुखमा जित निकाल्दा, कांग्रेस २ सय ६६ मा दोस्रो, माओवादी एक सय ६ मा तेस्रो र सत्ता गठबन्धनमा रहेको जसपा अर्थात् तत्कालिन फोरम नेपालले ३४ स्थानीय तहको प्रमुख जितेर चौथो दल बनेको थियो ।

तर, चुनाव भएको ५ वर्षको अवधिमा सत्ता परिवर्तनको खेलले राजनीति कोर्ष नै बदलिएपछि त्यसको प्रभाव स्थानीय तहको चुनावमा देखिने सम्भावना बढेको छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि एमाले चोइटिएको छ । एमालेबाट चोइटिएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा छ । अकल्पनीय घटनाक्रमले नेपालसहितको टिम पार्टीबाट अलग हुनुले पनि एमालेलाई यसपटकको चुनाव महंगो पर्ने देखिन्छ ।

यसैगरी कांग्रेसमा चुनावी तालमेल गर्ने वा एक्लो प्रतिस्पर्धामा जाने भन्ने द्विविधामा छ । सत्ता घटक दलहरू कांग्रेससँग चुनावी तालमेल गर्ने दाबी गरिरहेकै छन् । तर, कांग्रेसले भने एक महिनापछि मात्र निर्णय गर्ने भनेको छ ।

जसकारण झस्किएका माओवादी, एकीकृत समाजवादी र जसपाले कांग्रेसविनाको चुनावी तालमेल गरि प्रतिस्पर्धामा उत्रिने उत्तिक्कै सम्भावना छ । यद्यपि यो समीकरणले कांग्रेसलाई भने घाटा पुर्याउने एकीकृत समाजवादीको बुझाइ छ ।

आयोगका अनुसार अघिल्लो चुनावमा ५७ दलले चुनावमा प्रतिस्पर्धा गरे पनि यसपटक भने निवेदन दिएका ८० मध्ये ७९ दल चुनावी प्रतिस्पर्धामा उत्रिदैछन् ।