
सुर्खेत । पछिल्लो समय सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पतालमा सेवा लिने बिरामीको चाप दैनिक रुपमा बढ्दो क्रममा रहेको छ ।
औषधि, पूर्वाधार र जनशक्ति विस्तार गरेर सुविधासम्पन्न अस्पताल बनाउन सेवाग्राहीले माग समेत गर्दै आएका छन ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयमा विगतका वर्षहरुको तुलनामा यसवर्ष उपचारलिन आउने सेवाग्राहीको संख्यामा वृद्धि भएको छ । अहिले दैनिक २ सय बढी नागरिक प्रदेश आयुर्वेद औषधालय सुर्खेतमा उपचारलिन आउने गरेका छन् ।
कोरोना महामारीअघिका वर्षहरुमा आयुर्वेद औषधालयमा उपचारलिन आउने सेवाग्राहीको संख्या निकै कम हुने गरेको थियो । नागरिकमा आयुर्वेदको विश्वास बढ्न थालेपछि पछिल्लो समय सबैको रोजाइमा आयुर्वेद औषधालय बन्न पुगेको हो ।
कर्णाली प्रदेश सरकारको सहयोगमा औषधालयको स्तरोउन्नतिसँगै सेवा-सुविधा बढाएपछि नागरिकको आकर्षण अझ बढेको हो। पछिल्लो समय औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न जाने बिरामीको संख्यामा समेत वृद्धि भएको छ ।
पहिला–पहिला आयुर्वेद अस्पतालको उपचार पद्धति मन नपराउनेहरुको विश्वास अहिले आयुर्वेदतर्फ बढेको छ । केही वर्षअघिसम्म केहीले मात्रै उपचारलिन आउने गरेकाेमा अहिले दैनिक सरदर दुई सयको संख्याको हाराहारीमा बिरामीहरु प्रदेश आयुर्वेद औषधालयमा आउने गरेका छन् ।
आयुर्वेद औषधि तथा उपचारप्रति नागरिक विश्वास युगौंदेखि रहिआएको छ । प्रदेश आयुर्वेद औषधालयलाई औषधि अपर्याप्त रहेको परिप्रेक्षमा प्रदेशका दश वटै जिल्लास्थित आयुर्वेद केन्द्र, स्थानीय तह र नागरिक आरोग्य केन्द्रलाई औषधि वितरण गर्नुपर्ने जिम्मेवारीले थप हैरानी बनाएको औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले बताउनुभयो। औषधालयलाई प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप रकम बढाउनुपर्ने देखिन्छ ।
समय सापेक्षित चिकित्सा क्षेत्रका विभिन्न उपचार पद्धतिको विकासले मानवजीवनमा सोचे भन्दा बढी प्रगति भएपनि अझै आयुर्वेदतर्फ अनुसन्धानसँगै लगानी बढाउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्