
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपालका कम्युनिस्ट पार्टी ‘एउटै पेन्सिलका फरक–फरक टुक्रा’ मात्रै रहेको टिप्पणी गर्नुभएको छ ।
जसपाको पहिलो संघीय परिषद् बैठकमा समसामयिक राजनीति र जसपाको कार्यदिशाका विषयमा प्रतिवदेन प्रस्तुत गर्दै भट्टराईले यस्तो टिप्पणी गर्नुभएको हो ।
‘हाम्रो पार्टीको दृष्टिकोणमा नेकपाका घटकहरु आधारभूत रुपमा उस्तै हुन्’, भट्टराईको प्रतिवेदनमा भनिएको छ ।
नेपालमा दर्जनौं कम्युनिस्ट रहेको बताउँदै भट्टराईले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लाई ठूला कम्युनिस्ट समूह भएको बताउनुभएको छ ।
यस्तै साना कम्युनिस्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसद्मा प्रतिनिधित्व गर्ने प्रतिवेदनमा उल्लेख छ । संसद्मा नभएका नेकपाका अन्य घटकहरू वैद्य, विप्लव, आहुति, माले आदि अनेक समूहहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।
यी सबै समूहको विचार र उत्पतिको आधार एउटै भएको भन्दै यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ नयाँ जनवादी क्रान्ति’ र माओ त्से–तुङ विचारधारा माओवादबाट प्रभावित भएको उल्लेख छ ।
यी सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेको भट्टराईले उल्लेख गर्नुभएको छ । सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’ मार्फत् ‘संसदीय प्रणाली’ को बाटो समातेको माओवादी केन्द्र एमालेसँगको एकता, नेकपाको निर्माण र विभाजनपछि झण्डैझण्डै त्यही स्थितिमा पुगेको भट्टराइको विश्लेषण छ ।
औपचारिक रूपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलक विचारधारा माओवादी केन्द्रसँग बाँकी नरहेको उहाँको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्