१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री पाण्डेद्वारा चार जिल्लामा हुने प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन


611
Shares

हेटौंडा । बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

हेटौंडाको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुति, विद्यार्थीहरूद्वारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिएको थियो ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको अध्यक्षता तथा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यता रहनुका साथै प्रतिनिधिसभा सदस्य तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठ र प्रदेश सभामुख सानुकुमार श्रेष्ठको विशिष्ट अतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रमुख तथा स्थानीयहरूको बाल्लो उपस्थिति थियो ।

कार्यक्रममा हेटौंडामा मिनि रंगशाला निर्माणमा योगदान गरेका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । साथै राष्ट्रिय स्तरका कलाकार र हेटौंडाका कलाकारहरूले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए ।

प्रतियोगिता अन्तरगत मकवानपुरमा आइतबार पुरुष तर्फको फुटबल हुनेछ । पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिषद्ले जनाएको छ । खेल नकआउट चरणमा हुनेछ ।

प्रतियोगितामा ८ वटा खेल हुनेछ । मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडमिन्टन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सूर्यलाल भणडारीले बताउनुभयो ।

त्यस्तै, सिन्धुपाल्चोकमो चैत ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषद्ले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताउनुभयो ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम चैत १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।