१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आयुर्वेद औषधालयमा विरामीको संख्या बढ्दै


182
Shares

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा रहेको आयुर्वेद औषधालयहरूमा उपचारका लागि आउने विरामीको संख्या बढ्दै गएको छ ।

आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउनेको संख्या बढेको हो । विगत भन्दा अहिले आयुर्वेदतर्फ सर्वसाधारणहरूको रुचि बढ्न थालेको छ ।

जनकपुर आयुर्वेद औषधालयमा ५ वर्ष अघिसम्म दैनिक १०–२० जना बिरामी आउने गरेकोमा आजकल दैनिक २ सयभन्दा बढी विरामी उपचारका लागि आउने गरेको स्थानीयवासीहरू बताउँछन् ।

औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने विरामीको संख्या धेरै छ । विशेष गरेर हड्डी दुखाईका विरामीहरू अत्याधिक आउने गरेका छन् ।

कतिपय व्यक्तिहरू भने अन्य उपचार गराएर रोक निको नभएपछि आयुर्वेदतर्फ आउने गरेका छन् । स्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रूपमा औषधि वितरण हुन नसकेको औषधालयको गुनासो छ ।

प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आयुर्वेद उपचारलाई चुस्त बनाउन सकिने अस्पतालका प्रमुख डा. सिमा झाले बताउनुभयो ।

औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहारविहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले बताउँदै आएको छ ।