
एजेन्सी । आम आदमी पार्टीका नेता भगवन्त मानले भारतको पञ्जाब राज्यको मुख्यमन्त्रीको शपथ लिनुभएको छ ।
मानको शपथग्रहण समारोह पञ्जाबको राजधानी चण्डीगढमा नभएर भगत सिंहको पैतृक गाउँ खटकडमा भएका हो । राज्यपाल बनवारी लाल पुरोहितले मुख्यमन्त्री मानलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।
मुख्यमन्त्री मानले राज्यको १७औं मुख्यमन्त्रीको रुपमा ईश्वरको नाममा शपथ ग्रहण गर्नुभएको छ । अहिले नै मन्त्रिपरिषद् भने विस्तार गरिएको छैन ।
शपथग्रहण कार्यक्रममा लाखौं मानिसको उपस्थिति रहेको थियो भने उनीहरू पहेँलो पगडी लगाएका थिए । भगत सिंहले पहेँलो पगडी लगाउने भएर उनको मान राख्नका लागि उनले सबैलाई पहेँलो पगडी लगाएर आउन आह्वान गर्नुभएको थियो । उहाँ आफैँले पनि पहेँलो पगडी लगाउनुभएको थियो ।
शपथ ग्रहण समारोहमा कुनै पनि भीआईपीलाई निम्ता नदिएको बीबीसीले जनाएको छ । यद्यपि पार्टीका संयोजक भएको नाताले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भने उपस्थित थिए ।
पञ्जाबको विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप)लाई दुई तिहाइ बहुमत प्राप्त भएको थियो । कुल १ सय १७ सिटमध्ये आपले मात्र ९२ सिटमा जित हासिल गरेको थियो । कांग्रेस आई १८ सिटमा खुम्चिँदा, भारतीय जनता पार्टीको दुई सिट आएको थियो ।
प्रतिक्रिया दिनुहोस्