१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खलंगालाई मेयर कपको उपाधि , दशरथचन्द ५ विकेटले पराजित


104
Shares

बैतडी । दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगितामा दशरथचन्दलाई ५ विकेटले वराजित गर्दै खलंगाले उपाधि हात पारेकाे छ ।

बुधबार भएको फाइनल खेलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलंगाले १०.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । जसमा हरिस कार्कीले अविजित ५२ रनको पारी खेले । दशरथचन्दका सुमन रावलले ३ विकेट लिए ।

त्यसअघि निग्लाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दशरथचन्द १६.१ ओभरमा ८७ रन बनाएको थियो । उसका लागि आकाश रावलले १७, सुमन रावलले १४ र जगदीश चन्दले १३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन ।

दशरथचन्दको पारी ध्वस्त पार्ने क्रममा खलंगाका गोविन्द नाथ, प्रदीप चन्द र हरिश कार्कीले ३–३ विकेट झारे ।

म्यान अफ द फाइनल खलंगाका हरिश कार्की चुनिए । सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्यास्टसम्यान खलंगाका प्रदीप चन्द चुनिए । उनले प्रतियोगिताभर व्यक्तिगत १ सय ९३ रन र ७ विकेट हात पारेका थिए ।

यस्तै प्रतियोगिताभर १० विकेट हात पारेका ग्वाल्लेकका दीपक जोशी बेस्ट बलर भए ।

गत संस्करणको पनि च्याम्पियन टोली खलंगाले उपाधिसंगै ७५ हजार पुरस्कार पायो भने उपविजेता दशरथचन्दले ५० हजारमा चित्त बुझायो ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरे ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए । नगरपालिकाले वार्षिक कार्यक्रममै राखेर हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट गर्दै आएको छ ।