१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकियाे

247
Shares

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिनुभएको छ ।

मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्ममा पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिनुभएको हो ।

केही दिनअघि ठेकेदारले केही समय काम रोकेको भन्दै मन्त्री चौधरीले भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताउनुभयो ।

उहाँले डलरमा रकम भुक्तानी गर्न केही समय लागेको तर नेपाली रुपैयाँ सरकारले ठेकेदारलाई सम्झौताअनुसार भुक्तानी गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथान पोर्टल अडिटमा सोचेभन्दा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताउनुभयो ।

उहाँले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी काठमाडौं लैजाने गरी काम भइरहेको जानकारी दिनुभयो । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको जानकारी उहाँले दिनुभयो ।