१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१६ करोड बिगो दाबी गर्दै तीन जनाविरुद्ध मुद्दा


156
Shares

काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा १६ करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ राजश्व छलेकाले उनीहरूविरुद्ध बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी गर्दै मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

सौगात इन्टरनेशनलले जालसाजीपूर्वक नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक लिएर वित्ती विवरण, आय विवरण तयारी गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको अनुसन्धानमा खुलेको छ ।

अनुसन्धानमा मूअकर २ करोड ५२ लाख १४ हजार ३९५ रुपैयाँ र आयकर ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँ छलेको भेटिएको विभागले जनाएको छ ।