
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनललाई २–० ले हराएको छ ।
आर्सनलको मैदानमा बुधबार राति भएको खेलमा लिभरपुललाई विजयी गराउन डिएगो जोटा र रोबर्टो फिर्मिनोले एक एक गोल गरे ।
खेलको ५४ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि ६२ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।
जितसँगै लिभरपुलले प्रिमियर लिगको तालिकामा शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको दुरी एक अंकमा सिमित गरेको छ ।
लिगमा २९ खेलबाट सिटीको ७० अंक छ भने लिभरपुलको ६९ अंक भएको छ । एक खेल कम खेलेको चेल्सी ५९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिगअन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले ब्राइटनलाई २–० ले हराएको छ । ब्राइटनको मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन क्रिश्चियन रोमेरो र ह्यारी केनले एक एक गोल गरे ।
प्रतिक्रिया दिनुहोस्