१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अरूलाई अवरोध नहुने गरी होली मनाउन प्रधानमन्त्री देउवाको आग्रह


156
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमाको अवसरमा स्वदेश र विदेशमा रहेका सबै दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ ।

फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को संक्रमण अझै पूर्णरूपमा नियन्त्रण भइ नसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ ।

साथै उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नु भयो ।

उहाँले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको उल्लेख गर्नु भयो ।