१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियाकाे गेरुवामा शुद्ध खानेपानी संचालनमा,स्थानीय हर्षित


247
Shares

बर्दिया । बर्दिया जिल्लाकाे गेरुवा गाँउपालिकामा पहिलो पटक शुद्ध खानेपानी आयोजना संचालनमा आएको छ ।

वर्षौदेखि हातेपम्मको पानी पिउँदै आएका स्थानीयहरु शुद्ध खानेपानीको सहज पहुँच भएसँगै स्थानीय हर्षित भएका छन्। त्यस्तै, पानीजन्य रोगको समेत निराकरण हुनेमा आशावादी देखिएका छन् ।

बर्दियाको गेरुवा गाँउपालिका वडा नं. ४ मा रहेको भाँगाबारी खानेपानी तथा सरसफाई आयोजना संचालनमा आएको छ । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति काठमाण्डौँको आर्थिक सहयोगमा मानपुर युवा समाज बर्दियाले निमार्ण गरेको खानेपानी आयोजना संचालनमा आएको हो ।

खानेपानी आयोजनालाई यसै साता उपभोक्ता समिति तथा स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । ५० लाख ४८ हजार १ सय ५० रुपैयाँकाे लागतमा निर्माण गरिएकाे खानेपानी आयाेजना झण्डै १ सय ८० फिट गहिराईबाट निकालिएको पानी २० हजार लिटरको ओभर हेड ट्याङ्की मार्फट प्रशुधित गरेर स्थानीयहरुको घरमा पठाईने गरिएको छ ।

हाल १ सय ९ स्थानीयको घर-घरमा बिहान बेलुकी गरेर दैनिक ४ घण्टा खानेपानी सेवा विस्तार गरिएको हो । यसअघि हातेपम्पको आर्सिेनिक पानी पिउँदा विभिन्न पानी जन्य रोग लाग्नुका साथै स्वास्थ्य समस्या देखापर्ने गरेकोमा शुद्ध खानेपानी योजनाको विस्तारसँगै आफूहरुलाई राहत भएको नवज्याेति बजार व्यवस्थापन समिति गेरुवाका अध्यक्ष कुलबहादुर माझी बताउनुहुन्छ ।

भाँगाबारी क्षेत्र बाढी प्रभावित क्षेत्र भएको त्यसमा पनि आर्थिक रुपले विपन्न बस्ती भएकाले उक्त क्षेत्रमा शुद्ध खानेपानीका लागि पहलगरि आयोजना संचालनमा ल्याएको मानपुर युवा समाजका अध्यक्ष शशिराम बिकको भनाइ छ ।

भाँगाबारी खानेपानी आयोजना गेरुवाकै नमुना आयोजना भएको भन्दै आउने दिनमा स्थानीय सरकारले विभिन्न साझेदार निकायको समन्वयमा शुद्ध खानेपानीलाई गाँउपालिका भर विस्तार गरिने लक्ष्य रहेको गेरुवा गाँउपालिका वडा नं ४ का अध्यक्ष बलबहादुर चलाउनेले जानकारी दिनुभएको छ ।

गेरुवा गाँउपालिकामै पहिलो पटक संचालनमा आएको भांगाबारी खानेपानी आयोजना एक शुुखद सुरुवातीको संकेत हो । यस्ता खाले आयोजनालाई विस्तार गरेर गाँउपालिकाका प्रत्येक नागरिकलाई शुद्ध खानेपानीको प्रयाप्तता गर्न सक्नु स्थानीय सरकारको दायित्व हो ।