६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मुस्लिम समुदायमा आज इद उल फित्र पर्वको रौनक


0
Shares

काठमाडौं, असार २ । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् ।

अरबी पात्रो हिजरी सम्वतअनुसार दशौं महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।

आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

आज नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ ।

सो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो । यसैगरी घण्टाघरमै रहेको काश्मिी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ ।

पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’मा उल्लेख छ ।

यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ ।

जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ ।

सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । सोे दान पनि गरीबलाई नै दिइन्छ ।

गत जेठ ३ गते शुक्रबारदेखि मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) शुरु भएको थियो । एक वर्षभित्र गरिएका पाप कटाउन ब्रत बस्ने गरिएको हो ।