२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

आयोगले भन्यो– ‘उम्मेदवारी दिनुअघि राजीनामाको व्यवस्था नगरे ठूलो दुर्घटना’


1.092k
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधि उम्मेदवारी दिनुअघि राजीनामा गर्ने व्यवस्था नगरेको भए ठूलो दुर्घटना हुने बताएको छ ।

आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले आचारसंहिता बनाएपछि राजीनामा दिएर मात्रै उम्मेदवारी दिने वातावरण बनेको दाबी गर्नुभयो । पदमै रहेर उम्मेदवारी दिने व्यवस्था गरेको र उजुरी परेको अवस्थामा उम्मेदवारी रद्द हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

प्रवक्ता पौडेलले त्यो भन्दा अगावै आयोगले कानुनी व्यवस्थालाई ख्यालमा राखेर यो व्यवस्था गरेको दावी गर्नुभयो । उहाँले प्रतिनिधिहरुले राजीनामा दिँदा काममा असर गर्ने विषय चर्चामा आएपनि त्यस्तो अवरोध नहुने बताउनुभयो ।

स्थायी कर्मचारी संयन्त्र रहेकाले सर्वसाधारणको सेवा प्रवाह नरोकिने प्रवक्ता पौडेलले बताउनुभयो । आयोगले स्थानीय तह निर्वाचन आचारसंहिताको कार्यान्वयन सम्बन्धमा सात वटै प्रदेशमा अन्तरक्रिया गर्ने उहाँले जानकारी दिनुभयो ।

आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्त तथा निर्वाचन विज्ञहरुको सहभागितामा अन्तरक्रिया गर्ने प्रवक्ता पौडेलको भनाइ छ ।

त्यसैगरी, हरेक मतगणनास्थलमा मतगणना दृश्य अवलोकन प्रणाली जडान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहलाई आग्रह गरेको उहाँले बताउनुभयो ।