१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : फुटबल टीम उत्कृष्ट, उत्कृष्ट प्रशिक्षक टमाटा

पिपल्स च्वाइस अवार्ड टेबलटेनिसकी एलिनालाई, दशककै उत्कृष्ट खेलाडी पारस र सावित्रा

39
Shares

काठमाडौं । नेपाली पुरुष फुटबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ द इयरको अवार्ड जितेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरेको कार्यक्रममा फुटबल टिमलाई टीम अफ द इयरको अवार्ड प्रदान गरिएको हो ।

फुटबल टोलीले २०७७ सालमा ५ खेल खेलेको थियो । त्यसमध्ये १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो ।

त्यस्तै, उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटालाई प्रदान गरिएको छ । नेपाली क्रिकेटका सफल घरेलु प्रशिक्षक टमटा पछिल्लो एक दशकदेखि नेपाली क्रिकेटले पाएका हरेक सफलताका सारथी बन्दै आएका छन् ।

उनकै प्रशिक्षणमा नेपाल सन् २०१८ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनल पुग्न सफल हुँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको थियो ।

आयोजकले दशककै सर्वोत्कृष्ट खेलाडीको अवार्ड पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्ता पारस खड्का र महिलातर्फ राष्ट्रिय महिला फुटबल टीमकी खेलाडी सावित्रा भण्डारीलाई प्रदान गरेको छ ।

पारा स्पोर्ट्स अनर–२०७७ भने सरिता थुलुङले हात पारेकी छन् । लन्डनमा भएको विश्व पारा च्याम्पियसिप र सिंगापुरमा भएको पारा प्रतियोगितामा उनले राष्ट्रको प्रतिनिधित्व गरेकी थिइन् ।

धाविका पुष्पा भण्डारीले ‘पर्फमर अफ दि इयर’ अवार्ड हात पारेकी छन् । गतवर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा पुष्पाले स्वर्ण पदक जितेकी थिइन् ।

एनएसजेएफको स्पेशल अवार्ड भने डा. अजय राणालाई प्रदान गरिएको छ । नेपाली खेल क्षेत्रका हरेक प्रतियोगितामा खेलाडीको स्वास्थ्यमा विशेष जिम्मेवारी निर्वाह गरेका राणालाई स्पेशल अवार्ड प्रदान गरिएको हो ।

पिपल्स च्वाइस विधाको अवार्ड टेबलटेनिसकी एलिना महर्जनले जितेकी छन् । एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै उनले अवार्ड जितेकी हुन् ।