१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धका मुद्दामा आज सुनुवाई हुँदै


156
Shares

काठमाडौं । संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति विरुद्धका मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाई गर्दैछ ।

गत शुक्रबार संवैधानिक इजलासबाट बुधबारका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक-एक घण्टा समय दिएको छ । यो समय अपुग भए दुवै पक्षले आधा-आधा घण्टाको थप समय पाउनेछन् । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उपस्थित बहुमत पदाधिकारीले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश बमोजिम संवैधानिक निकायमा पटक-पटक गरी ५२ पदाधिकारी नियुक्तिको सिफारिस भएको थियो ।

यसअघि संवैधानिक परिषदको सदस्यका हैसियतले नियुक्तिकर्ता भएकाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले यी रिटमा सुनुवाई गर्न नमिल्नेबारे विवाद भएको थियो । जबराले यी रिटको सुनुवाईबाट अलग हुने मौखिक घोषणा गरे पनि संवैधानिक इजलासमा प्रधानन्यायाधीश हुनैपर्ने संवैधानिक व्यवस्था भएको भन्दै परेको अर्को रिटमाथि भदौमा आदेश गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले यी रिटको सुनुवाई रोक्न आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले रिट निवेदन दर्ता गर्नुभएको थियो ।