२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


सिमसार जोगाउन कोशीटप्पुको ४५ हेक्टर क्षेत्र सफाइ


39
Shares

काठमाडौं । मासिदो क्रममा रहेको सिमसार जोगाउन कोशी टप्पु वन्यजन्तु आरक्षअन्तर्गतको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाइको काम थालिएको छ ।

सिमसार मासिँदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो । संरक्षणको काममा सिमसारमा आश्रित समूदायलाई रोजगारी प्रदान गरिएको छ ।

जीविकोपार्जन सहयोगका रुपमा स्थानीय जनशक्ति परिचालन गरी सिमसारबाट जलकुम्भीका साथै मिचाहा प्रजातिका झारपात हटाउने कार्यलाई अघि बढाइएको छ ।

सिमसार सफाइ थालेसँगै स्थानीयले परिवर्तनको महसुस गर्न थालेका छन् । हराउँदै गएका माछा र चराको विचरण बढ्न थालेको उनीहरु बताउँछन् ।

संरक्षित क्षेत्रका रुपमा रहेको कोशी टप्पुको सिमसार क्षेत्र पछिल्लो समय भने जलकुम्भी र मिचाहा प्रजातिका कारण मासिदो क्रममा छ । सफाइको क्रममा सिमसार क्षेत्रबाट निकालिएको जलकुम्भीलाई कम्पोष्ट मल बनाउने गरी तयारी समेत गरिएको छ ।

मानव र वन्यजन्तु बीचको द्धन्द्ध अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षण उद्देश्यका साथ कोशी टप्पु टु कन्चनजंगा बेल्ट परियोजना अन्र्तगत यहाँ संरक्षणको काम अघि बढाइएको हो ।

माछा तथा चरासँगै सिमसारमा आश्रित जीवजन्तुको वासस्थान पहिल्याउँदै दिगो संरक्षणमा जोड दिन नेपाल र भारत दुई देश सम्मिलित विज्ञ टोलीले अध्ययन तथा अनुसन्धानको काम थाल्ने गरी तयारी समेत थालेको कोशी टप्पु लर्निङ ग्राउण्डले जनाएको छ ।