
काठमाडौं । मोरङको लेटाङमा चार दिनदेखि लागेको कर्फ्यू आज बिहानदेखि हटाइएको छ ।
गत सोमबार विहान ७ बजेदेखि लगाइएको कर्फ्यू आदेश आज बिहान ६ बजेदेखि हटाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिनुभयो ।
लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि सुुरू भएको प्रदर्शन अनियन्त्रित भएको थिए । उत्तेजित भिडको आक्रमणमा परी महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको आइतबार राति निधन भएको थियो ।
थप क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारेदेखि लेटाङ बजारसहित घटनास्थल वरपर अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको थियो ।
बुधवार घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेपछि कर्फ्यू आदेश खुकुलो बनाउँदै आज बिहानदेखि पूर्ण रुपमा हटाइएको हो ।
प्रदेश प्रहरी विराटनगरले वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा एक डिएसपी, एक प्रहरी निरीक्षकसहितको पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई १० दिनको म्याद दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्