
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न निर्देशन दिनुभएको छ ।
बिहीबार गृहमन्त्रालयमा बसेकोे केन्द्रिय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँडले सुरक्षा निकायलाई यस्तो निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो । उहाँले बैठकमा चिनियाँ विदेशमन्त्रीको सुरक्षा तयारीका बारेमा पनि छलफल भएको बताउनुभयो ।
चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । त्यस्तै बैठकमा समसामयिक सुरक्षा स्थिति र निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले बताउनुभयो ।
‘गृहमन्त्रीले स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्नलाई सबैले आ–आफ्नो ठाउँबाट खटेर योगदान गर्नुपर्छ भन्नुभयो,’ प्रवक्ता पोखरेलले भन्नुभयो, ‘मित्र राष्ट्र चीनका विदेशमन्त्रीको भ्रमण भोलि छ, त्यसको पनि सुरक्षा तयारी राम्रोसँग भइरहेको छ ।’
प्रवक्ता पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा अपनाउनु पर्ने रणनीतिका बारेमा छलफल भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्