६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अरुण तेस्रोको सुरुङ खन्नेक्रममा ढिस्कोले पुरिएर चारजना मजदुर बेपत्ता (अपडेट)


0
Shares

इन्द्र गिरी (इमेज)

संखुवासभा, असार २ । संखुवासभामा पर्ने अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्नेक्रममा ढिस्कोले पुरिएर चारजना मजदुर बेपत्ता भएका छन् ।

मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पहिरोले पुरिएर चारजना मजदुर बेपत्ता भएका हुन । सुरुङमार्गमा पुरिएका चारजना मजदुरको अहिलेसम्म उद्धार हुन सकेको छैन ।

भीरबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दासहित ६ ओटा स्काभेटर र डोजर परिचालित छन् ।

नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्नेक्रममा शुक्रबार राति पौने ९ बजे पहिरो झरेको थियो । सुरुङमा पुरिएर दुई नेपाली र दुईजना भारतीय कामदार बेपत्ता भएका हुन् ।

सुरुङमा विस्फोट गराइसकेपछि सफा गर्न गएका उनीहरु पहिरोमा फसेका थिए । उद्धारमा संलग्न सुरक्षाकर्मीकाअनुसार पहिरो हटाउन निकै समय लाग्ने देखिएको छ ।

उद्धारकर्मीहरुले सुरुङको प्रवेशमार्गमात्र खोल्नसके उनीहरुको अवस्था पत्ता लगाउनसकिने बताएका छन् । हावा पस्ने स्थिति भए उनीहरुलाई जीवितै उद्धार गर्नसकिने बताइएको छ ।

नेपाली सेनाको भीमकाली र बराहदल गुल्म, सशस्त्र प्रहरीको अरुण गुल्म सदरमुकाम बेस, नेपाल प्रहरीको टोली र स्थानीयबासिन्दा उद्धारमा खटिएका छन् ।

ठूल्ठूला ढुंगा हटाउन नसकिएको खन्डमा विस्फोट गर्नेगरी सुरक्षाकर्मी पनि तयारी अवस्थामा राखिएको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा रहेको छ ।