२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम : अध्यक्ष दाहाल


169
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम रहेको बताउनुभएको छ ।

सोमबार रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै जारी राखेको बताउनुभयो ।

उहाँले जनयुद्धकालिन समयमा सरकारले माओवादीलाई घेरा हाल्ने र सखाप पार्ने नीतिमा रहेजस्तै आज पनि प्रतिक्रियावादी र परिवर्तनकारीबीच त्यस्तै लडाई जारी रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले रोल्पालीहरूलाई शान्ति र विकास निर्माणमा पहिलाको जस्तै पहलकदमी लिन आग्रह गर्दै प्रतिक्रियावादीको लागि रोल्पा आतंकका रूपमा चिनिएको उल्लेख गर्नुभयो ।

दाहालले कम्युनिस्टहरूबीच एकता गर्दा मुलुकमा स्थायी शान्ति र विकास हुने ठानेर पार्टी एकता गर्दै नायक बनाउन खोजेकाहरू खलनायक भएको टिप्पणी गर्नुभयो ।

२०७५ सालमा माओवादी र एमाले एकताको प्रसङ्ग उठाउँदै दाहालले प्रधानमन्त्री बनेपछि केपी ओली संविधान र परिवर्तनविरुद्ध लाग्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनलाई भत्काउन देशी–विदेशी शक्ति लागिरहे पनि आफूहरू गठबन्धनलाई अझै बलियो बनाएर आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउने प्रयत्नमा रहेको बताउनुभयो ।

रोल्पाका सबै स्थानीय तहमा माओवादीलाई जिताउन आग्रह गर्दै रोल्पाको विकासका लागि आफूले पहल गर्ने उहाँको प्रतिवद्धता थियो ।