१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै राजनीतिक दललाई आ–आफ्नै मतपत्र दिने आयोगको निर्णय


1.053k
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई आ–आफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ ।

दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा सङ्गठन संरचना रहेको विवरण प्राप्त भएका दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्नेगरी आयोगले मतपत्र तयार गर्न लागेको छ ।

तत्तत् दलको जिल्लागत संगठन संरचनाका आधारमा जिल्लागत तहमा दलको सङ्ख्यात्मक उपस्थिति भिन्नभिन्न रहेको छ ।राष्ट्रिय मान्यता प्राप्त ६ सहित ७३ राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराएका थिए ।

राष्ट्रिय मान्यता प्राप्तबाहेकका दललाई आआफ्नो दलको निर्वाचनमा चुनाव चिह्नमा निर्वाचनमा भाग लिने भए जिल्लागत क्रियाशील संगठन संरचना बुझाउन समयसीमा तोकेर निर्देशन दिएको थियो ।

यसअघि राष्ट्रिय मान्यता दलबाहेक अन्य दललाई स्वतन्त्र समूहबाट चुनाव चिह्न प्रदान गर्ने अभ्यास थियो । यसअनुसार काठमाडौंमा सबभन्दा धेरै राष्ट्रिय मान्यताप्राप्त ६ र मान्यता नभएका ४० दल भएका छन् ।

यसबाहेक स्वतन्त्र उम्मेदवारका लागि पनि चुनाव चिह्न राख्नुपर्छ, यसले मतपत्रको आकार ठूलो हुनसक्छ । तर, काठमाडौं लगायतका ठूला स्थानीय तहमा उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्ने तयारी गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।

स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाइका लागि आयोगले जनकशिक्षा सामग्री केन्द्रलाई तयारी हालतमा राखिएको छ । मतपत्रका लागि आयोगले आवश्यक कागजको यसअघि नै व्यवस्थापन गरिसकेको आज आयोजित पत्रकार सम्मेलनमा पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही चैत्र १५ गतेबाट कल सेन्टर संचालनमा ल्याउन लागिएको पनि जनाएको छ ।