१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


विद्युत् संकटले उद्योगी आक्रान्त, दैनिका १४ घण्टासम्म अघोषित लोडसेडिङ


624
Shares

काठमाडौं । दैनिक १४ घण्टासम्म अघोषित लोडसेडिङ गरिएको भन्दै पूर्वका उद्योगी व्यवसायीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले संयुक्त पत्रकार सम्मेलन गर्दै यस क्षेत्रमा अघोषित लोडसेडिङका कारण उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

गत २ वर्षदेखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्र केही महिनायता भोग्नु परेको वित्तीय संकट तथा वढदो व्याजदरले मरणासन्न अवस्थामा पुगेकामा १४ घण्टा सम्म गरिएको लोडसेडिङले त उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ ।

सम्बन्धित निकाय गम्भीर भई तत्काल विद्युत आपूर्ति सूचालु नगर्ने हो भने सम्पूर्ण उद्योगहरू बन्द गर्न बाध्य हुने उनीहरूले बताएका छन् ।

सरकार तथा प्राधिकरणका जिम्मेवार पदाधिकारीहरूबाट उद्योग–उद्योग मै पुगेर चाहिएजति विद्युत दिन्छौं भन्दै लगानी बढाउन प्रेरित गरिरहेको तर एक्कासी मूल्य वृद्धि भएर विद्युत आयात गर्न नसकिएको भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको उनीहरूको भनाइ छ ।

विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले व्यहोर्नुपर्ने क्षतिलाई मध्यनजर गर्दै हाल देखिएको उर्जा संकटलाई अविलम्व समाधान गरी उद्योगहरूमा निरन्तर विद्युत् आपूर्तिको व्यवस्थाका लागि उनीहरुले सरकारसमक्ष आग्रह गरेका छन् ।