
काठमाडौं । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा पर्ने पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने तयारी भएको छ ।
कार्यपालिका बैठकले पोखरा १४ को बाच्छेबुडुवाबाट भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको हो । पोखरा ३३, साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने जग्गामा ल्याण्डफिल सार्ने निर्णय भएको महानगरले जनाएको छ ।
त्यस क्षेत्रमा १ सय रोपनी सार्वजनिक जग्गा छ भने दुई ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको हो । वडाध्यक्ष शिव आचार्यले भने सम्भाव्यता अध्ययनका लागि मात्रै ठाउँ प्रस्ताव गरिएको बताउनुभयो ।
डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्नका लागि जग्गाको खोजी गरिएको आचार्यको भनाइ छ । ल्याण्डफिलको लागि २ सय रोपनी जग्गा आवश्यक पर्ने बताइएको छ ।
यसअघि पोखरा १६ र २० को सीमानामा ल्याण्डफिल सार्ने निर्णय गरेकोमा स्थानीयको अवरोधले अघि बढ्न सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्