
काठमाडौं । स्थानीय चुनावको लागि निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको छ ।
स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो बनेको छ । मतपत्रको लहर ५६ मा सीमित गरी निर्वाचन आयोगले शनिबारबाट मतपत्रको छपाइ सुरु गरेको हो ।
सबैभन्दा लामो मतपत्र काठमाडौँ जिल्लाको ५६ लहरको छ भने सबैभन्दा छोटो मतपत्र डोल्पा जिल्लाको १६ लहरको छ ।
जिल्लाबाट निर्वाचनमा भाग लिने दलहरुको संख्या अनुरुप जिल्लापिच्छे फरक–फरक आकारको मतपत्रको डिजाइन गरिएको छ । काठमाडौं उपत्यकालगायत ६ वटा महानगरपालिको मतपत्र छपाइ भने १८ गतेपछि हुने आयोगको भनाइ छ ।
आयोगले एक करोड ९४ लाख मतपत्र छपाइ गर्दैछ । १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भए पनि १० देखि १५ प्रतिशत बढी मतपत्र छपाइ गरिने आयोगले जनाएको छ ।
आयोगले मतपत्रमा निर्वाचन चिन्ह भने हरियो रंग नै कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्