
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सोमबारबाट मतपत्र छपाइ सुरु भएको छ ।
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा सुरु भइ छपाइ कार्य जारी रहेको बताउनुभयो ।
प्रवक्ता पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छपाइ सकेको बताउनुभयो ।
स्थानीय तह निर्वाचनका लागि कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने, सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने उहाँले बताउनुभयो ।
गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाको विषयमा आयोगलाई जानकारी गराइसकेको भन्दै उहाँले त्यसप्रति आयोग गम्भीर भएर लाग्ने पनि बताउनुभयो ।
दुर्गम ठाउँमा मतपत्र पुग्नका लागि धेरै समय लाग्ने भएकाले सुरुमा दुर्गम ठाउँका लागि मतपत्र छापिने उहाँले बताउनुभयो ।
प्रवक्ता पौडेलले निर्वाचन कार्यालयका एजेन्सी शाखा र आर्थिक प्रशासन शाखाका कर्मचारीहरु सहभागी रहेको निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण विराटनगर, धुलिखेल, बुटवल र नेपालगञ्जमा सम्पन्न भएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्